ईर्साद अन्सारी
२५ असाेज,बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ माटोको ढिस्को खस्दा दर्जनौं व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
स्थानीय सञ्चारकर्मी रामबाबु मेहताका अनुसार, घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए।
घाइते सबैलाई उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्य सम्पन्न भइसकेको प्रहरीले जनाएको छ। छठ पर्व नजिकिँदै गर्दा माटो खन्ने क्रममा भएको यो दुर्घटनाले स्थानीयमा त्रास उत्पन्न गरेको छ।









प्रतिक्रिया दिनुहोस् !