२३ असाेज,काठमाण्डाैं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षाका लागि जुनसुकै बलिदान दिन तयार रहेको घोषणा गर्नुभएको छ।
जेलनेल भोगेको उल्लेख गर्दै उहाँले देशको हितका लागि आफूहरु कठिनाइ भोग्न तयार रहेको बताउनुभयो। वर्तमान सरकारलाई ‘हाहुको सरकार’ र ‘नेपालीको नभएको’ भन्दै कडा आलोचना गर्नुभयो।
उहाँले सुशीला कार्की नेतृत्वको सरकार संविधान र कानुनविपरीत बनेको र यो ‘चुनावी सरकार’ मात्र रहेको आरोप लगाउनुभयो, साथै यो सरकार केपी ओली र रमेश लेखकलाई समाउने तमासा देखाउन लागिपरेको दाबी गर्नुभयो।
ओलीले सरकारले आफ्नो पासपोर्ट रोक्का गर्न लागेको र काठमाडौँ उपत्यकाको डाँडा काटेर जान नपाउने भन्ने जस्ता ‘सडक तमासा’ देखाएको भन्दै आपत्ति जनाउनुभयो र सुशीला कार्कीको डरले आफू नभाग्ने बताउनुभयो।
उहाँले गृहमन्त्री ओमप्रकाश अर्यालको नाम गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै उहाँलाई ‘धेरै नउत्तालिन, नचम्किन र सम्मालिन’ सुझाव दिनुभयो। अन्तमा, लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएर लोकतन्त्रको पुनर्बहाली गर्नुपर्ने आफ्नो भनाइ रहेको उहाँले बताउनुभयो।









प्रतिक्रिया दिनुहोस् !