ईर्साद अन्सारी
२१ असाेज,काठमाडौ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिने भएको छ।
अनेरास्ववियुका महासचिव दीपक धामीले आज (मंगलबार) अपराह्न मेयर बालेन र सुदनविरूद्ध उजुरी दिन लागिएको जानकारी दिए। ‘मेयर बालेन र हामी नेपालका सुदन गुरूङविरूद्ध हामी उजुरी लिएर प्रहरीकोमा जाँदैछौं,’ उनले भने।
अनेरास्ववियुले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका घटनाहरूमा मेयर बालेन र सुदन गुरूङको कुनै न कुनै रूपमा भूमिका रहेको दाबी गरेको छ। भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा समेत आगजनी भएको थियो।
अखिलले यी घटनामा दुवै जनाको संलग्नता रहेको दाबीसहित उजुरी दिन लागेको जनाएको छ।
यसैगरी, जेनजी अभियानीहरू र आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारका तर्फबाट पनि आज जिल्ला प्रहरी परिसर काठमाडौंमा छुट्टै जाहेरी परेको बताइएको छ।









प्रतिक्रिया दिनुहोस् !