२१ असोज,बारा । जिल्ला प्रहरी कार्यालय कास्कीले मुख्यमन्त्रीको निवासमा आगजनी र एटीएम तोडफोड गर्ने एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार भदौ २३ र २४ गतेको आन्दोलन तथा तोडफोडपछि पुनः असोज १२ गते राति पोखरा महानगरपालिका वडा नं. ६, सहिदचोकस्थित रहेको मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार रहेका व्यक्तिको खोजी भइरहेको थियो।
सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७, राष्ट्रबैंकचोक बस्ने वर्ष २२ का संजोक थापालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा पक्राउ परेका थापाले नेपाल राष्ट्र बैंकको कम्पाउण्ड सडक छेउमा रहेको NIMB बैंक लिमिटेडको एटीएम मेसिनको स्क्रिनमा ढुङ्गाले प्रहार गरी तोडफोड समेत गरेको खुल्न आएको छ।
पक्राउ परेका थापामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतले विज्ञप्तिमा उल्लेख गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !