करैयामाईमा भ्रमण र इन्धनमा ६७ लाख खर्चमा महालेखाको गम्भीर प्रश्न, अख्तियारले अनुसन्धान गर्छ कि गर्दैन ?

छानबिन न्यूज
पाठक संख्या 52
2 Min Read
Oplus_16908288

२० साउन,बारा। करैयामाई गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतोको कार्यकालमा कर्मचारी तथा जनप्रतिनिधिको भ्रमण तथा सवारीसाधन इन्धनमा रु. ६७ लाख ३ हजार १७० खर्च गरेको विषयमा महालेखा परीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ।

महालेखाको वार्षिक प्रतिवेदनअनुसार भ्रमण खर्चमा रु. १२ लाख २८ हजार १७० खर्च गरिएको भए पनि अधिकांश भ्रमणको उद्देश्य खुलाइएको छैन। भ्रमण आदेश, निर्णय, अभिलेख तथा अनिवार्य भ्रमण प्रतिवेदनसमेत नबुझाई खर्च भुक्तानी गरिएको, केही अवस्थामा एउटै अवधिमा एकभन्दा बढी स्थानको भ्रमण खर्च भुक्तानी गरिएको तथा खर्चको औचित्य पुष्टि गर्ने पर्याप्त आधार नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, इन्धनतर्फ रु. ५४ लाख ७५ हजार खर्च गरिएको देखिए पनि सवारीसाधनको लगबुक, इन्धन खपतको अभिलेख, प्रयोगको विवरण तथा मापदण्डसमेत व्यवस्थित नराखी खर्च गरिएको भन्दै महालेखाले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन र स्पष्ट मापदण्ड बनाई खर्च गर्न निर्देशन दिएको छ।

महालेखाले गाउँपालिकालाई कानुनी प्रक्रिया पालना गर्न, अभिलेख व्यवस्थित राख्न र वित्तीय अनुशासन कायम गर्न सुझाव दिएको छ।

यद्यपि, प्रतिवेदनले औँल्याएका यस्ता गम्भीर अनियमितता सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतः चासो लिएर अनुसन्धान अघि बढाउँछ कि बढाउँदैन भन्ने प्रश्न स्थानीयस्तरमा उठ्न थालेको छ।

महालेखाले औँल्याएका कमजोरी सामान्य प्रशासनिक त्रुटि मात्र हुन् वा सार्वजनिक स्रोत–साधनको दुरुपयोगसँग सम्बन्धित विषय हुन् भन्ने यथार्थ सम्बन्धित निकायको निष्पक्ष अनुसन्धानबाट मात्र स्पष्ट हुनेछ।

प्रतिक्रिया
शेयर