२० साउन,बारा । पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मारेर अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा होटल सञ्चालकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले अभिषेक होटल तथा अर्को एक होटलमा छापा मार्दा सात महिला र पाँच पुरुषलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकामध्ये एक जना ४० वर्षीया होटल सञ्चालक महिला हुन्। नियन्त्रणमा परेकामध्ये नौ जना भारतीय नागरिक तथा तीन जना नेपाली महिला रहेका छन्।
प्रहरीका अनुसार ती होटलहरूमा केही समयदेखि अनैतिक गतिविधि भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि निगरानी बढाइएको थियो। निगरानीका क्रममा गतिविधि पुष्टि भएपछि प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
छापा मार्ने क्रममा अर्को होटलका सञ्चालक भने फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेका व्यक्तिहरू १९ देखि ४० वर्ष उमेर समूहका रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ। घटनाबारे प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


