प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विरोध, सीमासहित तराई हिंसाबारे सरकारको ध्यानाकर्षण

छानबिन न्यूज
पाठक संख्या 28
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१९ साउन,काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

विरोधपछि सभामुख डीपी अर्यालले नेपाली कांग्रेसका सचेतक निश्कल राईलाई बोल्न समय दिएका थिए। राईले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको अडान यथावत् रहेको बताएका छन्।

उनले पछिल्लो समय तराई–मधेश क्षेत्रमा देखिएको जातीय तथा धार्मिक साम्प्रदायिक हिंसा र त्यसपछि सरकारले खेलेको भूमिकाप्रति पनि सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। एक पक्षसँग वार्ता गर्दा अर्को पक्ष सडकमा उत्रिने अवस्था सिर्जना हुनु उचित नभएको उल्लेख गर्दै उनले सरकारले निष्पक्ष र सन्तुलित ढंगले परिस्थिति व्यवस्थापन गर्नुपर्ने धारणा राखे।

त्यसैगरी, एमाले सांसद गुरु बरालले सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयप्रति आपत्ति जनाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सीमाको सुरक्षा र राष्ट्रिय स्वाधीनतासँग जोडिएका विषयमा सरकारले स्पष्ट धारणा र प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया
शेयर