१९ साउन,बारा । जीतपुर–सिमरा उपमहानगरपालिकाले शिक्षा ऐनको पहिलो संशोधनमार्फत शिक्षकहरूको पेशागत सम्मान, मर्यादा र अधिकारलाई संस्थागत गर्ने महत्वपूर्ण व्यवस्था गरेको छ।
संशोधित ऐनअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका सहसचिव एवं राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरहको मर्यादाक्रम प्रदान गरिएको छ।
त्यस्तै, माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई उपसचिव एवं राजपत्राङ्कित द्वितीय श्रेणी र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई शाखा अधिकृत एवं राजपत्राङ्कित तृतीय श्रेणी सरहको मर्यादा कायम गरिएको छ।
त्यसैगरी निम्न माध्यमिक तथा प्राथमिक तहका प्रथम, द्वितीय र तृतीय श्रेणीका शिक्षकहरूको मर्यादाक्रम पनि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका समान तहका कर्मचारीअनुसार कायम रहने व्यवस्था गरिएको छ।
प्रधानाध्यापकहरूको मर्यादाक्रम भने उनीहरू जुन तह र श्रेणीका शिक्षक हुन्, सोहीअनुसार हुने उल्लेख गरिएको छ।
उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र हुने औपचारिक सभा, समारोह तथा कार्यक्रमहरूमा संशोधित ऐनबमोजिम शिक्षकहरूको आसन, उपस्थिति र सम्मान सुनिश्चित गर्नुपर्ने व्यवस्था समेत गरेको छ।
उपमहानगरपालिकाले यो संशोधनलाई शिक्षकको पेशागत सम्मान, न्यायोचित अधिकार र जिम्मेवारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा तथा नैतिक आचरणको प्रवर्द्धनतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।
“शिक्षकको सम्मान, शिक्षाको पहिचान” तथा “समर्पित शिक्षक, समृद्ध समाज” भन्ने नारासहित उपमहानगरले शिक्षा क्षेत्रको गुणस्तर र शिक्षकको सम्मानप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।


