ईर्साद अन्सारी
१८ साउन, काठमाण्डाैं। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी कसुरसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राहदानी कसुरसम्बन्धी मुद्दामा उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। सोही पक्राउ पुर्जीका आधारमा सीआईबीको टोलीले सोमबार भट्टराईलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
भट्टराईमाथि १७ वर्षअघि पाँच जना तिब्बती शरणार्थीका नाममा फर्जी कागजात प्रयोग गरी ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) जारी गरेको आरोप छ।
उक्त घटनासम्बन्धी अनुसन्धानपछि गत सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध राहदानी कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
अदालतको आदेशअनुसार पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


