‘मिसन पार्टी जागरण’ सबै पालिकामा सुरु गर्न एमालेको निर्देशन, आवश्यक परे सडक आन्दोलनका लागि तयार रहन आग्रह

छानबिन न्यूज
पाठक संख्या 31
2 Min Read

१८ साउन,बारा ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’ अभियानलाई पार्टी निर्माणको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउँदै देशभरका सबै पालिकामा प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन्।

प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिसँग सोमबार भर्चुअल बैठक गर्दै पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउन अभियान सञ्चालन गरिएको बताए। अभियानलाई सफल बनाउन पार्टी कमिटीसँगै जनसंगठनलाई पनि सक्रिय रूपमा परिचालन गर्न उनले आग्रह गरे।

पोखरेलले पार्टी विस्तारलाई वर्ग, समुदाय र पेशागत क्षेत्रसम्म फैलाउन तथा विचार, संगठन र नेतृत्वको पुनर्गठनमार्फत पार्टीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। स्थानीय कमिटीलाई चलायमान बनाउने, रिक्त पद पूर्ति गर्ने र संगठनलाई सक्रिय बनाउने काम अभियानकै क्रममा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

युवा सहभागिता बढाउने नीति विगतदेखि अघि सारिए पनि व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले ‘मिसन पार्टी जागरण’ पनि निर्देशनमै सीमित नहोस् भन्नेमा नेतृत्व गम्भीर हुनुपर्ने बताए। पार्टीलाई सुधार र रूपान्तरण संस्थागत निर्णयका आधारमा अघि बढाइने उनले स्पष्ट पारे।

पार्टी सदस्यता नवीकरण अभियानलाई सफल बनाउन उनले सबै तहका कमिटीलाई सक्रिय हुन आग्रह गर्दै आवश्यक समस्या समाधानका लागि केन्द्रले सहजीकरण गर्ने जानकारी दिए।

वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै पोखरेलले शासन सञ्चालनको अनुभव नभएका व्यक्तिहरू सरकारमा पुगेका कारण मुलुक संकटतर्फ उन्मुख भएको दाबी गरे। सरकार पूर्वाग्रह र प्रतिशोधको भावनाबाट सञ्चालन भइरहेको तथा कानुनी प्रक्रिया मिचेर स्वेच्छाचारी शैली अपनाइरहेको आरोप लगाउँदै उनले आवश्यक परे सडक आन्दोलनमा उत्रिन पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिए।

बैठकमा एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी सदस्यता नवीकरण अभियान उत्साहजनक रहेको जानकारी दिएका थिए। साथै प्रदेश अध्यक्षहरूले ‘मिसन पार्टी जागरण’, सदस्यता नवीकरण तथा संगठनात्मक गतिविधिबारे आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया
शेयर