धर्मभन्दा माथि मानवता: कलैयामा शान्ति, सद्भाव र भाइचाराको प्रदर्शन

छानबिन न्यूज
पाठक संख्या 39
2 Min Read
oplus_1

१६ साउन,बारा ।  बाराको सदरमुकाम कलैयामा शनिबार धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले भव्य सद्भाव र्‍याली सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट सुरु भएको र्‍यालीले कलैया बजारको विभिन्न क्षेत्रको परिक्रमा गर्दै सामाजिक सद्भाव, पारस्परिक सम्मान र शान्तिको सन्देश दिएको थियो। र्‍यालीमा सबै समुदायका नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो। त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, कलैया उपमहानगरपालिकाका प्रमुख, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख र जनप्रतिनिधिहरू पनि र्‍यालीमा सहभागी भएका थिए।

र्‍यालीका क्रममा सहभागीहरूले ‘सबै धर्मको सम्मान गरौँ’, ‘हिन्दु–मुस्लिम भाइभाइ’, ‘सामाजिक सद्भाव कायम गरौँ’, ‘हिंसा होइन, शान्ति रोजौँ’ लगायतका नाराहरू लगाउँदै आपसी एकता र सद्भावको सन्देश दिएका थिए।

Oplus_16908288

वक्ताहरूले नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै धर्म, जाति र समुदायबीच आपसी सम्मान, सहिष्णुता र भाइचाराको भावना अझ सुदृढ बनाउन आवश्यक रहेको बताए।

Oplus_16908288

पछिल्ला केही घटनालाई लिएर समाजमा फैलिन सक्ने द्वेष, भ्रम र उत्तेजनालाई अस्वीकार गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासनलाई बलियो बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

र्‍यालीले धार्मिक तथा सामुदायिक एकता कायम राख्दै कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिको पछि नलाग्न र सामाजिक सद्भाव जोगाउन सबैलाई सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया
शेयर