१६ साउन,बारा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ।
गृहमन्त्री सुदन गुरुङ बिहीबार राति मृतक यादवको घर सिरहाको औरही गाउँपालिका–२ तुलसियाही पुगेर परिवारसँग छलफल गरेका थिए। सोही क्रममा सरकार र मृतकका परिवारबीच सात बुँदे सहमति भएको हो।
सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने भएको छ। साथै, मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ।
यस्तै, परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने तथा बुबा–आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति भएको छ।
सहमतिमा गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिले दिने सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ।
साथै, सहमतिअनुसार सनिबार (साउन १६) गणेश यादवको दाहसंस्कार गर्ने उल्लेख गरिएको छ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।


