१५ साउन,बारा । सुनसरीको घटनालाई लिएर सिरहाका विभिन्न स्थानमा आन्दोलन चर्किरहेका बेला सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार गोलबजारबाट दुई जना र सदरमुकाम सिरहाबाट तीन जनालाई पक्राउ गरिएको हो।
उनले फिल्डमै खटिएकाले पक्राउ परेकाहरूको नाम र ठेगाना तत्काल सार्वजनिक गर्न नसकिएको बताए।
प्रहरीले सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने जनाएको छ।
सुनसरीको घटनापछि सिरहासहित तराईका विभिन्न जिल्लामा आन्दोलन भइरहेका बेला जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी परिचालनलाई थप सुदृढ बनाइएको प्रहरीले जनाएको छ।


