१५ साउन,बारा । सुनसरी, सिरहा लगायत विभिन्न जिल्लामा हालै भएका घटनापछि बारा जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न जिल्लामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिले संयुक्त अपिल जारी गरेका छन्।
शुक्रबार जारी संयुक्त अपिलमा सुनसरी, सिरहा लगायतका जिल्लामा भएका घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। विगतमा बारा जिल्लाले पनि विभिन्न द्वन्द्वबाट ठूलो क्षति व्यहोरेको स्मरण गराउँदै त्यस्ता घटनाबाट सबैले पाठ सिक्नुपर्ने आवश्यकता औँल्याइएको छ।
संयुक्त विज्ञप्तिमा फेसबुक, टिकटक, इन्स्टाग्राम, व्हाट्सएप, युट्युब लगायत सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा पुराना घटनालाई जोडेर धार्मिक वा सामुदायिक द्वेष फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
धर्म, आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणा फैलाउने, अमर्यादित अभिव्यक्ति दिने तथा सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि निन्दनीय रहेको भन्दै यस्ता कार्य नगर्न सबैलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा बारा जिल्लाको शान्ति, सुरक्षा, विविधता र बहुल पहिचानलाई कायम राख्न सबै धर्म तथा समुदायबीच आपसी एकता, सहिष्णुता, सद्भाव र भाइचाराको भावना सुदृढ बनाउन राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी, युवा तथा सञ्चारकर्मी लगायत सबै सरोकारवालालाई हातेमालो गर्न आह्वान गरिएको छ।
साथै वर्तमान परिस्थितिमा सबै नागरिकलाई संयमित रहन, समाजमा उत्तेजना फैलाउने वा धार्मिक भावनामा आघात पुग्ने गतिविधि नगर्न र नगराउन अपिल गर्दै बारा जिल्लालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुताको नमूना जिल्ला बनाउने प्रतिबद्धता पनि संयुक्त विज्ञप्तिमार्फत व्यक्त गरिएको छ।


