देवानगञ्ज घटनापछि कोशी–मधेश तनावग्रस्त, पाँच जिल्लामा कर्फ्यूलाई निरन्तरता

छानबिन न्यूज
पाठक संख्या 35
2 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१५ साउन,बारा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि चर्किएको प्रदर्शनका कारण कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू तथा निषेधाज्ञालाई शुक्रबार पनि निरन्तरता दिइएको छ।

गत आइतबार राति कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको थियो। त्यसको विरोधमा विभिन्न स्थानमा प्रदर्शन भइरहेका बेला बिहीबार सिरहामा पनि प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको हो।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले सुनसरी, सिरहा, धनुषा, सप्तरी र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीका १० स्थानीय तहमा साउन १२ गतेदेखि जारी कर्फ्यू अझै कायम छ। कर्फ्यू प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा गस्ती बढाइएको छ भने अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

धनुषामा शुक्रबार बिहान ६ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिदका लागि दुई घण्टा कर्फ्यू खुकुलो बनाइएको थियो। तर बिहान ८ बजेदेखि पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। जनकपुरधामका विभिन्न क्षेत्रमा नेपाली सेनाले बाक्लो सुरक्षा गस्ती गरिरहेको छ।

प्रशासनका अनुसार कर्फ्यूका बेला अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहन, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, पानी र दूध बोकेका सवारी साधनलगायत अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहनेछन्। स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी तथा हवाई यात्रुहरूले सम्बन्धित परिचयपत्र वा हवाई टिकटका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।

यता सप्तरीको बोदेबरसाईन नगरपालिकामा बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार खडक पुलदेखि प्रितमपुर चोक, नेंगडा चोकदेखि मानराजा चोकसम्मको क्षेत्र कर्फ्यूभित्र समेटिएको छ।

त्यसैगरी, राजविराज नगरपालिकामा शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको छ। आदेशअनुसार पूर्वमा खाँडो खोला, पश्चिममा जुडनी–ढलही, उत्तरमा बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र कर्फ्यूको दायरामा परेको छ।

सिरहाको लहान र गोलबजार क्षेत्रमा पनि कर्फ्यू कायमै रहेको प्रशासनले जनाएको छ। स्थानीय प्रशासनहरूले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
शेयर