देवानगञ्ज घटनाः मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १०–१० लाख राहत दिने सहमति

छानबिन न्यूज
पाठक संख्या 17
1 Min Read
Oplus_16908288

१५ साउन,बारा  । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच सातबुँदे सहमति भएको छ।

सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ। देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने पनि सहमतिमा उल्लेख छ।

सहमतिअनुसार मृतकका प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै, घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।

त्यसैगरी, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने सहमति भएको छ।

सहमतिपत्रमा शुक्रबार दिउँसो २ बजे मृतकहरूको दाहसंस्कार गर्ने उल्लेख गरिएको छ। उक्त सहमतिसँगै केही दिनदेखि तनावग्रस्त बनेको क्षेत्रको अवस्था क्रमशः सामान्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
शेयर