१५ साउन,बारा । तराई–मधेश क्षेत्रमा पछिल्ला दिन देखिएको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले एआईजी, डीआईजी र एसएसपी तहका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा खटाएको छ। यसै क्रममा बारा जिल्लामा एसएसपी होबिन्द्र बोगटीलाई जिम्मेवारी दिइएको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार तराई–मधेशमा शान्ति–सुरक्षा सुदृढ बनाउन उच्च तहका प्रहरी अधिकृतहरूलाई फिल्डमा परिचालन गरिएको हो।
गत १० साउन राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि मोरङ, सुनसरी, सिरहा, धनुषा लगायतका जिल्लामा तनाव फैलिएको छ। केही स्थानमा आगजनी, तोडफोड तथा प्रदर्शनका घटना भएका छन् भने स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गर्दै नेपाली सेना समेत परिचालन गरेको छ। हालसम्म उक्त घटनासँग सम्बन्धित तीन जनाको मृत्यु भइसकेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले स्रोत–साधनको प्रभावकारी उपयोग, सुरक्षा अवस्थाको मूल्यांकन, निर्देशन कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण र आवश्यकताअनुसार प्रत्यक्ष फिल्ड परिचालनका लागि उच्च अधिकृतहरूलाई जिम्मेवारी दिएको जनाएको छ।
उनीहरूले सम्बन्धित प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
परिचालित उच्च प्रहरी अधिकृतहरूमा एआईजी उमा प्रसाद चतुर्वेदी (कपिलवस्तु), एआईजी ईश्वर कार्की (कोशी प्रदेश तथा सुनसरी), डीआईजी दिनेश कुमार आचार्य (सिरहा), डीआईजी अबि नारायण काफ्ले (सप्तरी), एसएसपी गोपाल चन्द्र भट्टराई (सर्लाही), एसएसपी सोमेन्द्र सिंह राठौर (पर्सा), एसएसपी दीप शम्शेर जबरा (रौतहट), एसएसपी नवराज अधिकारी (चितवन), एसएसपी कृष्ण प्रसाद पंगेनी (महोत्तरी), एसएसपी होबिन्द्र बोगटी (बारा), एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँल (मोरङ), एसएसपी भुवनेश्वर तिवारी (धनुषा) तथा एसएसपी अमरेन्द्र बहादुर सिंह (मधेश प्रदेश) रहेका छन्।


