सांसद गणेश पौडेलमाथि दुर्व्यवहार प्रकरण : दुई पक्राउ, अन्यको खोजी तीव्र

छानबिन न्यूज
पाठक संख्या 20
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१४ साउन,रौतहट । रौतहटका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि जनगुनासो सुनुवाइ कार्यक्रमकै क्रममा अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनालाई अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पनि खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गढीमाई नगरपालिका–३ का २० वर्षीय शेख ईवरान र सोही वडाका १९ वर्षीय ईर्फान अन्सारी रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

घटना साउन १३ गते राति करिब ९ बजेतिर गढीमाई नगरपालिका–७ पर्सास्थित मठ मन्दिर नजिक भएको थियो। त्यसबेला सांसद पौडेल रौतहट निर्वाचन क्षेत्र नं. ४ का स्थानीयवासीसँग गुनासो तथा सुझाव सुनिरहेका थिए।

सोही क्रममा केही व्यक्तिहरू त्यहाँ पुगेर ‘मधेस मुक्ति अभियान जिन्दावाद’ लगायतका नारा लेखिएका पर्चा छरेका थिए। साथै, ‘फिर्ता होऊ नेपाली माननीय मुर्दावाद’, ‘नेपाली उपनिवेश अन्त हो’ र ‘झापा देखि कञ्चनपुरसम्मको मधेस स्वतन्त्र हो’ जस्ता नारा लगाउँदै सांसद पौडेलमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोप प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर