प्रदर्शन चर्किएपछि जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यू

छानबिन न्यूज
पाठक संख्या 15
1 Min Read

१४ साउन,बारा ।  जनकपुरधाम, साउन १४ । जनकपुरधाममा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यू अवधिमा तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा धर्नालगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

प्रशासनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न भागका साथै लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिका जोडिएका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू लागू गरिएको हो।

पछिल्लो समय जनकपुरधाममा प्रदर्शन र तनाव बढ्दै गएपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाएको छ। प्रहरीले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
शेयर