तेहरान
१३ साउन,। होर्मुज जलसन्धिमा जहाजहरूको आवतजावतमा इरानको प्रभाव बढ्दै गएको देखिएको छ। समुद्री सूचना प्रदायक संस्था ‘मारिस्क’का अनुसार पछिल्ला तीन दिनमा होर्मुज जलसन्धि भएर आवतजावत गर्ने सबै जहाजहरूले तेहरानले तोकेका समुद्री मार्गहरू प्रयोग गरेका छन्। यस अवधिमा अमेरिकाले सिफारिस गरेको ओमानको तट नजिकको वैकल्पिक मार्गबाट एउटा पनि जहाज नगएको तथ्यांकले देखाएको छ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार शनिबारदेखि सोमबारसम्म होर्मुज जलसन्धिबाट ७८ वटा जहाज आवतजावत गरेका थिए। तीमध्ये २० वटा इरानी झण्डाबाहक थिए भने बाँकी ५८ वटा विदेशी जहाजहरूले पनि इरानले निर्देशन दिएको उत्तरी मार्ग नै प्रयोग गरेका थिए।
पछिल्लो ‘अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम (AIS)’को तथ्यांकले पनि प्रतिबन्धका बाबजुद इरानको नियन्त्रणमा रहेको उत्तरी मार्ग हुँदै गैर–इरानी व्यावसायिक जहाजहरूको आवतजावत निरन्तर भइरहेको देखाएको छ। समुद्री कम्पनी ‘विन्डवार्ड’का अनुसार आइतबार जलसन्धिबाट गुज्रिएका सातवटै जहाजले पनि यही मार्ग रोजेका थिए।
अमेरिका र इरानबीच होर्मुज जलसन्धिलाई लिएर तनाव बढिरहेका बेला इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले जलसन्धि प्रयोग गर्ने जहाजहरूले तेहरानको अनुमति लिनुपर्ने चेतावनी दिँदै आएको छ।
गत शनिबार ‘इरान डेली’लाई दिएको अन्तर्वार्तामा इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले ओमानको तट नजिक वैकल्पिक जलमार्ग सञ्चालन गर्न खोज्नु इरान–अमेरिका समझदारीको उल्लंघन भएको बताएका थिए। इरानी सरकारी टेलिभिजन ‘आईआरआईबी’का अनुसार इरानी सेनाले दक्षिणी मार्ग हुँदै जान खोजेका केही जहाजहरूको दिशा परिवर्तन गराएको थियो।
यसबीच अमेरिकी प्रतिबन्ध कायम रहे पनि इरानका बन्दरगाहहरूमा तेल बोक्ने ट्यांकरहरूको आगमन जारी छ। ‘विन्डवार्ड मेरिटाइम’का अनुसार आइतबार खर्ग टापुको तेल लोडिङ टर्मिनलमा २४ वटा ट्यांकर पालो कुरिरहेका थिए, जबकि अघिल्लो दिन यो संख्या २१ थियो।
उता, दुई सातासम्मको बमबारीपछि अमेरिकाले इरानमाथिको आक्रमण रोक्ने संकेत दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताका लागि पटक–पटक आग्रह गरिरहेको दाबी गर्दै कूटनीतिलाई अर्को अवसर दिन चाहेको बताएका छन्। तर, वार्ता असफल भए पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी पनि उनले दिएका छन्।


