सुनसरी घटनापछि सर्वदलीय बैठक, प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

छानबिन न्यूज
पाठक संख्या 61
2 Min Read
Oplus_16908288

१३ साउन,काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राजनीतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक सम्पन्न भएको छ।

यद्यपि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएनन्।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरी घटनाले सिर्जना गरेको असहज परिस्थितिमा सामाजिक रूपमा फैलिन सक्ने द्वेषलाई रोक्न र सद्भाव कायम राख्न राजनीतिक दलहरूबाट साझा प्रतिबद्धता आवश्यक ठानिएकाले सर्वदलीय छलफल आयोजना गरिएको हो।

उनले प्रशासनले शान्ति–सुरक्षा कायम गर्न प्रयास गरिरहे पनि राजनीतिक नेतृत्वबाट पनि संयम, सहिष्णुता र सामाजिक एकताको सन्देश जान आवश्यक भएकाले बैठक बोलाइएको बताए।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए।

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घटनापछि जिल्लाको अवस्था केही समय तनावपूर्ण बनेको थियो।

यसअघि मंगलबार राति प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नागरिकलाई संयमित रहन, एकअर्काप्रति प्रेम, सम्मान र सहिष्णुता कायम राख्न तथा सामाजिक सद्भाव जोगाउन अपिल गरेका थिए।

प्रतिक्रिया
शेयर