१३,साउन,काठमाडौं । सुनसरीलगायतका जिल्लामा भएका संवेदनशील घटनापछि बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न, अफवाह फैलिन नदिन र समस्याको समाधान शान्तिपूर्ण संवादमार्फत खोज्न सबै नागरिक तथा सरोकारवालालाई संयुक्त अपिल गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपाल विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको आधारमा अघि बढेको देश भएकाले सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरिएको छ।
बैठकले सुनसरीसहित विभिन्न स्थानमा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्यलाई घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कानुनी कारबाही अघि बढाउन तथा पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ।
संयुक्त विज्ञप्तिमा सामाजिक एकता, आपसी विश्वास र शान्ति कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।




