१३ साउन,बारा । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकको सरुवा गरिएको छ। उनको स्थानमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईलाई पर्सा पठाइएको छ।
एसपी पाठकको सरुवा नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट र त्यसपछिको आन्दोलनकै बीच भएको हो। चिकित्सकसँगको वार्ताका क्रममा एसपी पाठकले दुर्व्यवहार गरेको भनिएको भिडियो सार्वजनिक भएपछि विवाद थप चुलिएको थियो।
यद्यपि, कुनै एक प्रहरी अधिकृतको सरुवा मात्रै यति ठूलो घटनाक्रमको समाधान हुन नसक्ने आवाज उठ्न थालेको छ। अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको आक्रमण, सुरक्षा व्यवस्थाको कमजोरी तथा दोषीमाथिको कारबाहीजस्ता मूल विषय ओझेलमा पारेर सरुवालाई मात्र समाधानका रूपमा प्रस्तुत गर्नु दीर्घकालीन उपाय नहुने विश्लेषण भइरहेको छ।
सुरक्षा निकायका अधिकारीहरू कठिन परिस्थितिमा काम गरिरहेका बेला विवाद उत्पन्न हुनासाथ सरुवा गर्ने अभ्यासले प्रहरी संगठनको मनोबलमा समेत असर पर्न सक्ने टिप्पणी गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी गल्ती गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउनु नै स्थायी समाधान हुने सरोकारवालाहरूको धारणा छ।
यसबीच नारायणी अस्पताल प्रकरणमा संलग्न दोषीमाथि कारबाही र स्वास्थ्य सेवा पुनः सहज बनाउने विषय अझै चुनौतीकै रूपमा रहेको छ।


