१२ साउन,बारा । नारायणी अस्पतालमा कार्यरत ६५ भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो पेसागत सुरक्षा सुनिश्चित नभएसम्म काम गर्न असमर्थ रहेको जनाउँदै सामूहिक राजीनामा दिएका छन्।
चिकित्सकहरूले साउन १२ गते दर्ता नं. २२६ मार्फत प्रमुख मेडिकल सुपरिटेन्डेन्टसमक्ष सामूहिक राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण, दुर्व्यवहार र असुरक्षाको अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। गत श्रावण ९ गते अस्पतालको आकस्मिक (इमर्जेन्सी) विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्समाथि हातपात, अभद्र व्यवहार तथा अस्पतालको भौतिक संरचनामा तोडफोड भएको जनाइएको छ।
उक्त घटनापछि सुरक्षित कार्य वातावरण निर्माणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रमुख मेडिकल सुपरिटेन्डेन्टको उपस्थितिमा निरन्तर संवाद भइरहेको अवस्थामा पनि स्थानीय प्रशासन र प्रहरी प्रमुखकै निर्देशनमा चिकित्सकहरूमाथि कुटपिट, दुर्व्यवहार तथा धरपकड गरिएको गम्भीर आरोप चिकित्सकहरूले लगाएका छन्।
यही कारण पेसागत सुरक्षा र सम्मानको प्रत्याभूति नभएसम्म सेवा प्रवाह गर्न नसकिने निष्कर्षमा पुग्दै निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उदय नारायण सिंह, डा. निरज कुमार सिंह, डा. विकास साह, डा. अरुण कुमार प्रसाद, डा. शैलेश ठाकुर, डा. सुनन्दा प्रसाद चौधरी, डा. राकेश तिवारी सहित ६५ बढि प्रमुख कन्सल्टेन्ट तथा मेडिकल अधिकृतहरूले साउन १२ गतेदेखि लागू हुने गरी संयुक्त रूपमा सामूहिक राजीनामाको घोषणा गरेका हुन्।



