१२ साउन,काठमाण्डाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा विकसित पछिल्लो परिस्थितिलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक भोलि बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको छ।
रास्वपाले सबै दललाई औपचारिक पत्राचार गरिसकेको र सभापति लामिछानेले स्वयं प्रमुख नेताहरूसँग टेलिफोनमार्फत पनि सहभागी हुन आग्रह गरेको जनाएको छ।
महामन्त्री आचार्यले सुनसरीको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र आपसी विश्वास कायम गर्न राजनीतिक दलहरूबाट साझा सन्देश आवश्यक रहेको भन्दै बैठक आयोजना गरिएको बताए।
उनका अनुसार प्रशासनिक तहबाट शान्ति कायम गर्ने प्रयास जारी रहे पनि द्वेष फैलिन नदिन र सबै पक्षबाट संयमित अपिल जारी गर्न साझा छलफल आवश्यक भएकाले सर्वदलीय बैठक बोलाइएको हो।


