१२ साउन,बारा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच झडप भएको थियो। सोही झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो भने अन्य केही व्यक्ति घाइते भए।
यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै स्थानीयबासीले मंगलबार सिरहाको गोलबजार नगरपालिका–८ स्थित चोहर्वामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरेका छन्।
कप्तानगञ्ज घटनापछि उत्पन्न अशान्त र तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन सुनसरी जिल्ला प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा कडा कदम चालेको छ।
प्रशासनले दुवै गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा कायमै राखेको छ। साथै, हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजारका मुख्य क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
यद्यपि, सर्वसाधारणमा परेको द्विविधा प्रस्ट पार्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अधिकारीले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु भने हटाइएको जानकारी दिएका छन ।
अन्य संवेदनशील क्षेत्रहरूमा भने सम्भावित जोखिम न्यूनीकरणका लागि कर्फ्यु र निषेधाज्ञा निरन्तर जारी रहने प्रशासनले जनाएको छ।


