१२ साउन,बारा । सुनसरीको सुरक्षा अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको मुख्य राजमार्ग क्षेत्र तथा इनरुवा बजारमा मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सुनसरीस्थित महेन्द्र राजमार्गको पकली चोकदेखि कोशी ब्यारेजको पुलसम्म तथा इनरुवा बजार क्षेत्रमा कर्फ्यू लागू गरिएको हो।
कर्फ्यू अवधिभर तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक वा घेराउ गर्न नपाउने आदेशमा उल्लेख गरिएको छ।
प्रशासनले पूर्वतर्फ पकली चोक, पश्चिमतर्फ कोशी ब्यारेजको पुल तथा उत्तर–दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रभित्र कर्फ्यू लागू हुने जनाएको छ।
देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव, प्रदर्शन, तोडफोड तथा आगजनीका घटनालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै अनिश्चितकालीन कर्फ्यू जारी गरेको जनाएको छ।


