१२ साउन, काठमाडौं । भारतको कर्नाटक राज्यस्थित बागलकोट जिल्लामा एक व्यक्तिले परपुरुषसँग सम्बन्ध रहेको आशंकामा आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेको छ। घटनापछि उनले श्रीमतीको अन्तिम अवस्थाको दृश्य आफ्ना सासू–ससुरालाई भिडियो कलमार्फत देखाएको आरोप पनि लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आइतबार साँझ गलगली गाउँमा भएको घटनामा २५ वर्षीया भाग्याश्री जिगलुरको मृत्यु भएको हो। प्रहरीले उनका श्रीमान् प्रवीण जिगलुरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार प्रवीणले सुरुमा काठको मुढाले श्रीमतीमाथि आक्रमण गरेका थिए। त्यसपछि दोपट्टाको प्रयोग गरी उनको हत्या गरेको आरोप छ।
प्रहरीका अनुसार घटनापछि आरोपीले श्रीमतीको अन्तिम अवस्थाको भिडियो रेकर्ड गर्नुका साथै सासू–ससुरालाई भिडियो कल गरेर उक्त दृश्य देखाएका थिए। उनले सो भिडियो केही साथीभाइ र आफन्तलाई पनि पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
जानकारीअनुसार दम्पतीबीच केही समयदेखि वैवाहिक विवाद चलिरहेको थियो। भाग्याश्री दुई महिनाअघि माइत गएकी थिइन्। श्रीमान्को आग्रहपछि उनी पुनः घर फर्किएकी थिइन्, तर घर फर्किएकै साँझ उनको हत्या भएको आरोप लागेको हो।
घटनाबारे जानकारी पाएपछि स्थानीय प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। आरोपीलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको छ।


