नारायणी अस्पताल काण्डमा अनुसन्धान तीव्र, वडाध्यक्ष चतुर्बेदि सहित तीन जना प्रहरी नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 28
2 Min Read
Oplus_16908288

१२ साउन,बारा ।  नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिट घटनाको अनुसन्धानका क्रममा वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मंगलबार दिउँसो महानगरपालिका कार्यालय परिसरबाट चतुर्वेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार कुर्मीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। सोही क्रममा अस्पतालमा तोडफोड हुनुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको आरोप छ। घटनापछि दोषीमाथि कारबाही र चिकित्सकको सुरक्षाको माग गर्दै वीरगन्जसहित देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्, जसका कारण धेरै अस्पतालमा स्वास्थ्य सेवा प्रभावित बनेको छ।

यता, चतुर्वेदीको पक्राउको विरोध गर्दै वीरगन्ज महानगरपालिकाका सबै वडाध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्। उनीहरूले जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै चतुर्वेदीलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेका छन्।

विज्ञप्तिमा चतुर्वेदीले घटनापछि पीडित परिवार, स्थानीय प्रशासन र सम्बन्धित पक्षबीच समन्वय गरेर समस्या समाधानको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको उल्लेख गरिएको छ। वडाध्यक्षहरूको भनाइमा उनलाई पक्राउ गर्नु जनप्रतिनिधिको भूमिकामाथिको हस्तक्षेप हो।

उनीहरूले चतुर्वेदीलाई तत्काल रिहा नगरे साउन १३ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन्। साथै, स्थानीय प्रशासनलाई संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्। यस अघि दुईजनालाई प्रहरिले पक्राउ गरि अनुसंधान थालेकाे बताईन्छ ।

 

प्रतिक्रिया
शेयर