देवानगञ्ज तनावपछि सुनसरीका १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

छानबिन न्यूज
पाठक संख्या 36
1 Min Read
Oplus_16908288

१२ साउन,इनरुवा । देवानगञ्जमा दुई समूहबीच भएको झडपपछि सुरक्षा अवस्था थप संवेदनशील बनेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले मंगलबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू रहने जनाएको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

प्रशासनका अनुसार इनरुवा, दुहबी, देवानगञ्ज, हरिनगर, कोशी, गढी, भोक्राहा नरसिंह र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। साथै इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्रभित्र पनि कर्फ्युको दायरा विस्तार गरिएको छ।

कर्फ्यु अवधिभर सम्बन्धित क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, सभा, जुलुस, प्रदर्शन, बैठक तथा घेराउलगायतका गतिविधिमा पूर्ण रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ।

देवानगञ्जमा भएको झडपपछि विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएपछि अवस्था थप जटिल बन्दै गएको भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै कर्फ्युको दायरा विस्तार गरेको जनाएको छ।

प्रतिक्रिया
शेयर