११ साउन,सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई पक्षबिच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ गरी १६ जना घाइते भएका छन्। घटनापछि स्थिति नियन्त्रणमा लिन सुनसरी जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाका पाँचवटा स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा राति १२:३० बजे जारी आदेश अनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगन्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रको चारकिल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको यो आदेश उल्लङ्घन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी प्रशासनले दिएको छ।


