११ साउन,बारा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा साउने सोमबारको ब्रतका लागि हिन्दू धर्मावलम्बीहरूले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूहमाथि आइतबार राति अर्को समूहले आक्रमण गरेपछि सुरु भएको झडपले उग्ररूप लिँदा स्थानीयका घर तथा पसलमा समेत आगजनी भएको छ।
घटनाको जानकारी पाएलगत्तै स्थिति नियन्त्रणमा लिन परिचालन गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने झडप र गोली लागेर पाँच जना प्रहरीसहित करिब १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार घाइतेहरूको विराटनगरस्थित विराट टिचिङ, नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्लाका विभिन्न स्थानबाट थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएकाले अहिले घटनास्थलको अवस्था सामान्य रहेको छ ।


