ईर्साद अन्सारी
११ साउन,बारा । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उपचारका क्रममा बाटोमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार शनिबार साँझ आफ्नै घरभित्र पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी चौधरीलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए।
चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको र गम्भीर अवस्था भएकाले प्राथमिक उपचारपछि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको भए पनि आफन्तले थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा आइतबार राति बाटोमै उनको मृत्यु भएको हो।
सोमबार बिहान ७ बजे आफन्तले घटनाबारे जानकारी गराएपछि मृतकको शव हाल धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने आत्मदाहको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।


