जन्तर-मन्तर प्रदर्शनबीच सांसद इन्द्रहाङ सुब्बालाई गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको ज्ञापन

छानबिन न्यूज
पाठक संख्या 90
1 Min Read

११ साउन,बारा ।  दिल्लीको जन्तर-मन्तरमा गोर्खाल्याण्ड राष्ट्रिय मञ्चको आयोजनामा धरना प्रदर्शन चलिरहेकै बेला, मञ्चको एक प्रतिनिधि टोलीले सिक्किमका सांसद श्री इन्द्रहाङ सुब्बालाई भेटेर गोर्खाल्याण्डको आवाज संसदभित्र उठाइदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

दार्जीलिङ बाहिर बस्ने गोर्खाहरूका निम्ति पनि गोर्खाल्याण्ड आवश्यक रहेको जनाउँदै, प्रतिनिधि टोलीले एक गोर्खा सांसद हुनुको नाताले भारतीय गोर्खाहरुको राष्ट्रिय चिन्हारी र राजनीतिक सुरक्षाका लागि यो मागलाई संसदमा पुर्‍याइदिन अनुरोध गरेका छन्।

भेटमा सांसद सुब्बाले मञ्चको विषयलाई गम्भीरतापूर्वक लिँदै, एक गोर्खा हुनुको नाताले गोर्खाल्याण्डको मुद्दामा काम गर्नु आफ्नो दायित्व रहेको र सिक्किमका पूर्व मन्त्रीहरूले पनि सहयोग गर्दै आएको कुरा बताए।

साथै, विगतमा भएका भूलहरूलाई सुधारेर राष्ट्रिय मञ्च गठन गरी राम्रो काम गरेकोमा प्रशंसा गर्दै, उनले सबैलाई यसै मञ्चमा जोडिएर काम गर्न हौसला दिएका छन्।

आफूबाट हुन सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको सो टोलीमा मञ्चका प्रमुख संयोजक लोकनारायण सुब्बा, प्रमुख सल्लाहकार (अ.प्रा.) कर्नल भूपेन्द्र सिंह छेत्री, सह-संयोजक किशोर प्रधान, सह-संयोजक सानु तामाङ र गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको तर्फबाट नारी अभियन्ता शितल सुब्बाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
शेयर