११ साउन,बिराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै सर्वसाधारण र सुरक्षाकर्मी गरी २२ जनाभन्दा बढी घाइते भएपछि जिल्लाको सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालयले हरिनगरा र देवानगन्जका बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरे तापनि प्रदर्शनकारीहरूले बिहानैदेखि कर्फ्यु उल्लंघन गर्दै टायर बालेर नाराबाजी, तोडफोड र तोकिएका बस्तीहरूमा आगजनी जारी राखेका छन्।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला सुरक्षा समितिले बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन गर्ने आकस्मिक निर्णय गरे पनि गाउँबस्तीहरूमा धारिलो हतियारसहित आक्रमण, कुटपिट र हिंसात्मक गतिविधि रोकिएका छैनन्।
देवानगन्ज–२ मा करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल र ट्याक्टरमा आगजनी गर्दा करिब ९० लाखको क्षति भएको छ भने अबाफ अ न्सारी र अपास अन्सारीका घर तथा मोटरसाइकल जलेर लाखौँको नोक्सानी हुनुका साथै परालका टालीमा समेत आगजनी भएपछि प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको छ।
यसैगरी इनरुवामा बजाज शोरुम, गाडीका सिसा र प्रहरी बिटमा समेत तोडफोड गरिएको छ भने पूर्व-पश्चिम राजमार्गअन्तर्गत लौकही र फूलचोक क्षेत्रमा प्रदर्शनका कारण यातायात ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन्।
हिंसाकै क्रममा देवानगन्जका २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भई उनी गम्भीर घाइते भएका छन् र उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार अतिरिक्त सुरक्षा बल परिचालन गरी कर्फ्यु उल्लंघनकर्ता र उच्छृङ्खल तत्वमाथि कडा कारबाहीको चेतावनी दिइएको छ भने जिल्ला प्रशासनमा आयोजित सर्वपक्षीय बैठकले निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाए पनि जमिनको अवस्था अझै सामान्य हुन नसक्दा सिङ्गो सुनसरी अशान्त र त्रासमय बनेको छ।


