९ साउन,बारा । नेपाल पत्रकार महासंघ बाराले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारिता र प्रेस स्वतन्त्रताको नाममा पछिल्लो समय केही सञ्चारकर्मी तथा युट्युबरहरूबाट बढ्दै गएको अराजकता, स्वच्छन्दता र सामाजिक सञ्जालको दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संविधानको धारा १९ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरे पनि यसको दुरुपयोग गरी कुनै पनि व्यक्ति, संस्था, शिक्षक वा नागरिकको मान-प्रतिष्ठामा आँच पुऱ्याउने, चरित्रहत्या गर्ने र पठनपाठनमा अवरोध पुऱ्याउने कार्य स्वीकार्य नहुने महासंघले स्पष्ट पारेको छ।
यस्ता गैरजिम्मेवार र बेइज्जतीपूर्ण कार्यहरू मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीयोग्य कसुर भएकाले वर्जित कार्य गरी कानुनी कारबाहीको दायरामा परेका सञ्चारकर्मी वा युट्युबरहरूलाई महासंघले कुनै पनि प्रकारको भौतिक, नैतिक वा कानुनी सहयोग नगर्ने घोषणा गरेको छ।
महासंघ बाराका सचिव पुष्पराज खतिवडाद्वारा जारी विज्ञप्तिमा आचारसंहिता विपरीतका अराजक गतिविधिलाई निरुत्साहित गर्न नियामक निकायहरूलाई प्रभावकारी अनुगमन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण श्रमजीवी पत्रकार, सञ्चारमाध्यम र नागरिक समाजलाई मर्यादित, उत्तरदायी र तथ्यपरक पत्रकारिताको संरक्षणका लागि एकजुट हुन हार्दिक आह्वान समेत गरिएको छ।


