तस्करसँगको शंकास्पद अडियो बाहिरिएपछि बीओपी सरमुजवाका इन्स्पेक्टर बाहिनी तानिए, छानबिन सुरु

छानबिन न्यूज
पाठक संख्या 57
2 Min Read

८ साउन,राैतहट ।  नेपाल–भारत सीमा क्षेत्र रौतहटमा तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र तस्करहरूबीचको कथित साँठगाँठ सतहमा आएपछि सिंगो सीमा सुरक्षा प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ।

बोर्डर आउटपोस्ट (बीओपी) सरमुजवाका इन्स्पेक्टर गणेश बोहरा र एक तस्करबीच भएको शंकास्पद संवादको अडियो ‘छानबिन न्युज डटकम’ ले सार्वजनिक गरेलगत्तै इन्स्पेक्टर बोहरालाई सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान अघि बढाइएको छ ।

 बाहिनीपति डीआईजी विष्णुप्रसाद भट्टले गलत आचरण भएका कर्मचारीमाथि कडा कारबाही गर्ने नीति लिएका छन्। स्थानीयका अनुसार व्यक्तिगत प्रयोजनका सामानमा कडा जाँच गर्ने सुरक्षाकर्मीकै ढिलासुस्ती र मिलेमतोका कारण बङ्कुल, रामपुरखाप र सरमुजवाजस्ता नाकाबाट रातिको समयमा कपडा, मदिरा, किराना र हार्डवेयर सामग्रीको संगठित तस्करी निर्बाध भइरहेको छ,जसले गर्दा राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ।

आर्थिक वर्ष २०८२/८३ मा भन्सार कार्यालय गौरमा नेपाल प्रहरीले ५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बुझाउँदा ११ नम्बर गण, चार बीओपी र आठ सीमा सुरक्षा पोस्टको ठूलो संरचना तैनाथ रहेको सशस्त्र प्रहरीले भने ४ करोड ५ लाख रुपैयाँको मात्र सामान बुझाएपछि उसको कार्यसम्पादन थप शंकास्पद बनेको छ।

सीमामा सुरक्षा प्रणाली हुनु अनिवार्य भए पनि जवाफदेहिता र इमानदार अनुगमन नहुँदा यसको मर्ममाथि प्रहार भएको स्थितिमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको टोलीले बङ्कुल पुगेर स्थानीयसँग छलफल गर्दा सर्वसाधारणले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्

प्रहरी प्रधान कार्यालयले पनि यसअघि असार मसान्तमा रौतहटका ४८ प्रहरीको सरुवा गरिसकेकाले सीमामा सुशासन कायम राख्न उक्त अडियोको फरेन्सिक परीक्षणसहित निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नु अति आवश्यक देखिएको छ।

प्रतिक्रिया
शेयर