७ साउन,बारा । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलमा नास्पातीको क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पार्किङ गरी राखिएको बा२१च ५६६६ नम्बरको योद्धा पिकअप गाडी खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाइएको प्लास्टिक हटाउँदा ६५२ केजी (प्लास्टिकसहित ६६३ केजी) गाँजा जस्तो देखिने पदार्थ र करिब ९,९२० केजी नास्पाती फेला पारी बरामद गरेको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा लहान–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार मधुवनी घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार नियन्त्रणमा लिइएका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
बरामद गाँजाको स्रोत, गन्तव्य र यस समूहमा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि अनुसन्धानलाई थप विस्तार गरिएको छ।


