७ साउन,बारा । बाराको करैयामाई गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रमका क्रममा बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननीय चन्दनकुमार सिंहसमक्ष स्थानीय किसानहरूले रासायनिक मल वितरणमा व्यापक धाँधली र अनियमितता भएको गम्भीर आरोप लगाएका छन्।
किसानहरूले आफूहरूले वास्तविक रूपमा १० देखि २० किलोसम्म मात्र मल प्राप्त गरे पनि भरपाइ तथा सरकारी अभिलेखमा भने ५० देखि १०० किलोसम्म पाएको देखाइएको गुनासो गरेपछि माननीय सिंहले तत्काल साल्ट ट्रेडिङ कर्पोरेसन र स्थानीय कृषि सहकारीहरू (साना किसान कृषि सहकारी संस्था र श्री हरियाली कृषि सहकारी संस्था) बाट निकासा भएको मलको परिमाण, बिक्री विवरण तथा भर्पाईको सूची मगाएर छानबिन सुरु गरेका हुन ।
प्राप्त विवरण र किसानहरूले भोगेको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएपछि उक्त सत्यतथ्य विवरण स्थानिय राकेश कुमार सराफ, समाजसेवी रमेश शर्मा र नवलकिशोर चौधरीलगायतको पहलमा सर्वसाधारणका लागि सार्वजनिक गरिएको छ ।
जसबाट किसानहरूले आफूले पाएको परिमाण र कागजी अभिलेख आफैं तुलना गर्न सक्ने भएका छन्।
किसानहरूले पटक-पटक आवाज उठाउँदा पनि स्थानीय सरकारले समयमै छानबिन र अनुगमन नगर्नुले करैयामाई गाउँपालिकाको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
किसानको हक-अधिकार संरक्षण गर्न र सार्वजनिक स्रोतको दुरुपयोग रोक्न यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने तथा भविष्यमा पारदर्शी वितरण र नियमित अनुगमन प्रणाली लागू गर्नुपर्ने जोडदार माग गरिएको छ।


