६ साउन,बारा । फेसबुक र मेसेन्जरको दुरुपयोग गरी वैदेशिक रोजगारीमा रहेका नेपालीको नाममा नक्कली खाता बनाएर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले बाराका २० वर्षीय जस्मुदिन अन्सारी र पर्साका २० वर्षीय विशाल पटेललाई वीरगञ्जबाट पक्राउ गरेको छ।
लन्डनमा रहेका संजय पटेलको नाम र तस्बिर प्रयोग गरी बनाइएको नक्कली अकाउन्टबाट ‘अप्ठ्यारोमा परेको’ भन्दै प्रलोभनमा पारी वीरगञ्ज बस्दै आएका ४९ वर्षीय शिवपुजन बैठालाई ठगी गरिएको उजुरीका आधारमा प्रहरीले साउन २ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सर्वसाधारणका नाममा बैंक खाता र सिमकार्ड प्रयोग गरी अनलाइन ठगी धन्दा चलाउने यो समूहमाथि ठगी सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।


