४ साउन,बारा । काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक तथा मेसेन्जरमार्फत विज्ञापन गरी अमेरिकी लटरीको आधिकारिक एजेन्ट भएको भ्रम छर्दै नेपाली बेरोजगार युवाहरूलाई निसाना बनाएर सङ्गठित अनलाइन ठगी धन्दा व्यापक रूपमा फस्टाएको छ।
केही महिना अघि मात्रै ‘SMC’ जस्ता अवैध बेटिङ र नेटवर्किङ सञ्जालमार्फत हजारौँ नेपालीहरू ठगिएर करोडौँ रुपैयाँ गुमाएको घाउ सेलाउन नपाउँदै, अहिले ‘Luck Arrives 777’ जस्ता दर्जनौँ फर्जी पेजहरूले ‘मिशिगन लटरी’ (Michigan Lottery) को नक्कली प्रमाणपत्र र तोडमोड गरिएका फर्जी कागजातहरू देखाएर खुलेआम लुट मचाउदै आएका छन्।
यी ठगहरूले सुरुआतमा ३,००० देखि ७,००० रुपैयाँसम्मका विभिन्न कार्ड प्याकेज खरिद गरेमा १० लाख डलर ($1 Million) सम्मको आकर्षक पुरस्कार जित्न सकिने र २० लाख रुपैयाँभन्दा माथिको पुरस्कार परेमा थप रकम भुक्तानी गर्नुपर्ने जस्ता भ्रामक सर्तहरू राखेर सर्वसाधारणलाई लोभ्याउने गरेका छन्।
अमेरिकी राज्य लटरीको नाम प्रयोग गरिए पनि रकम सङ्कलन भने नेपालकै NMB Bank लगायतका बैंक खाताहरूमा विभिन्न व्यक्तिको नाममा रहेको QR Code मार्फत गराउने गरिएको छ, जसले यो स्वदेशमै बसेर वा स्वदेशी बैंकिङ प्रणालीको दुरुपयोग गरी चलाइएको गिरोह हो भन्ने स्पष्ट पार्छ।
मुलुकको विद्यमान ‘मुलुकी अपराध संहिता, २०७४’ को दफा २४९ ले कुनै पनि प्रकारको ठगीलाई कसुर ठहर गर्दै कडा सजायको व्यवस्था गरेको छ भने ‘जुवा ऐन, २०२८’ तथा राष्ट्र बैंकको विदेशी विनिमय नियमन सम्बन्धी एकीकृत निर्देशनहरूले यस्ता गैरकानुनी अनलाइन सट्टाबाजी र अनधिकृत वित्तीय कारोबारलाई पूर्णतः प्रतिबन्धित गरेका छन् ।
तर पनि नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरण जस्ता जिम्मेवार निकायहरूले यस प्रकारका खुलेआम विज्ञापन र अवैध बैंकिङ कारोबारमाथि ठोस निगरानी र कारबाही नबढाउँदा राज्य मौन दर्शक बनेको भन्दै तीव्र आक्रोश पैदा भएको छ।
जब सचेत नागरिकहरूले नेपाल सरकारको आधिकारिक इजाजतपत्र वा प्रमाण माग्छन्, तब ती ठगहरूले सोधपुछ गर्ने व्यक्तिलाई तुरुन्तै मेसेन्जरबाट ब्लक गरेर आफ्नो कालो धन्दा लुकाउने प्रयास गर्दछन्, जसले गर्दा रोजगारीको खोजीमा रहेका तथा छिटो धनी बन्ने सपना देखाइ एका बेरोजगार युवाहरू दैनिक रूपमा यस प्रविधिको दुरुपयोगबाट वित्तीय अपराधको सिकार भइरहेका छन्।
सार्वजनिक सचेतना सन्देश: कुनै पनि वैधानिक अन्तर्राष्ट्रिय लटरीले फेसबुक मेसेन्जर वा स्वदेशी बैंकका व्यक्तिगत QR Code मार्फत पैसा माग्दैन। यस्ता भ्रामक विज्ञापन र म्यासेजको प्रलोभनमा नपर्नुहोला र भेटिएमा तुरुन्तै प्रहरीको साइबर ब्युरो वा नजिकैको प्रहरी कार्यालयमा सूचना दिनुहोला।



