टोरेसको जादुमयी गोलले स्पेन बन्यो नयाँ विश्वविजेता, मेसीको लगातार दोस्रो उपाधि जित्ने सपना अधुरो

छानबिन न्यूज
पाठक संख्या 42
2 Min Read
Oplus_16908288

४ साउन,काठमाण्डाैं ।  ​न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनल भिडन्तमा फेरान टोरेसको अतिरिक्त समयको ऐतिहासिक गोलको मद्दतले स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले स्तब्ध पार्दै दोस्रो पटक विश्वकपको उपाधि चुमेको छ।

खेलभर बल नियन्त्रण र आक्रमणमा पूर्ण वर्चस्व कायम गरेको स्पेनविरुद्ध निर्धारित समयसम्म अर्जेन्टिनाले एउटै पनि प्रहार गर्न नसकेको अवस्थामा इन्जुरी समयअघि एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित अर्जेन्टिना थप दबाबमा परेको थियो।

यही दबाबको फाइदा उठाउँदै अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको ३७ सेकेन्डमै पेड्रो पोरोको क्रसमा निको विलियम्सको हेडर पासलाई सदुपयोग गर्दै फेरान टोरेसले शक्तिशाली हाफ–भलीमार्फत प्रतियोगिताकै आफ्नो पहिलो र निर्णायक गोल गरे।

यो जितसँगै सन् २०१० को इनिएस्टाको जादुमयी अतिरिक्त समयकै गोलको इतिहास सम्झाउँदै स्पेनले एउटै विश्वकपमा मात्र एक गोल व्यहोरेर उपाधि जित्ने, युरोपियन च्याम्पियनसिप र विश्वकप लगातार दुई पटक जित्ने एक मात्र टोलीको कीर्तिमान र ६५ वर्षे पाका प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा ऐतिहासिक सफलता दर्ता गरेको छ।

अर्कातर्फ, अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले ११ उत्कृष्ट बचाउ गरे पनि प्रतियोगिताभर ८ गोल र ४ असिस्ट गरेका ३९ वर्षीय लियोनल मेसीलाई स्पेनको बलियो रक्षापङ्क्तिले फाइनलमा रोक्दा ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने र लगातार कोपा अमेरिका र विश्वकपको उपाधि यात्रा कायम राख्ने अर्जेन्टिनाको सपना अधुरै रहन पुग्यो

 खेलको अन्त्यमा केहीबेर तनाव भए पनि स्पेनका खेलाडीहरूले अर्जेन्टिनी टोलीलाई ‘गार्ड अफ अनर’ दिँदै उत्कृष्ट खेलभावना प्रदर्शन गरे।

प्रतिक्रिया
शेयर