३ साउन,काठमाण्डाैं । मौसममा क्षणिक सुधार देखिए पनि परिस्थिति झन् भयावह र संवेदनशील बन्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो पुनः अर्को आकस्मिक ‘रेड अलर्ट’ जारी गरेको छ ।
लगातारको वर्षाले जमिन गलिसकेकाले कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा पहिरोको चरम खतरा रहेको छ ।
लुम्बिनी, सुदूरपश्चिम, मधेस र बागमती/गण्डकीका तराई क्षेत्रमा समेत धेरै भारी वर्षाको चेतावनी दिइएको छ ।
काठमाडौँ उपत्यकामा अहिले घाम झुल्किए पनि त्यो क्षणिक भ्रम मात्र भएको र जुनसुकै बेला मुसलधारे वर्षा हुन सक्ने मौसमविद् डेभिड ढकालले बताएका छन् ।
सम्भावित गेग्रान बहाव, बाढी र पहिरोका कारण सडक तथा हवाई यातायात जुनसुकै बेला ठप्प हुन सक्ने भएकाले लामो दूरीको यात्रा स्थगित गर्न, नदी किनार तथा भिरालो जमिन आसपासका नागरिकलाई सुरक्षित स्थानमा सर्न, मोबाइल चार्ज गरिराख्न र टोल फ्री नम्बर ११५५ मार्फत बाढीको निरन्तर अपडेट लिन विभागले विशेष अपिल गरेको छ ।


