३ साउन,काठमाण्डाैं । छिमेकी देश भारतको आगरामा एक रैथाने इन्कम ट्याक्स एड्भोकेट सुनील कुमार सिंहको परिवारले आफ्नो हराएको प्यारो सुगा ‘मऊ’ को खोजीका लागि शहरका मुख्य चोकहरूमा ठूला-ठूला होर्डिङ बोर्डहरू टाँस्नुका साथै फेला पार्नेलाई नगद ५०,००० रुपैयाँ इनाम दिने घोषणा गरेपछि यो घटना सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
गत वर्ष १५ मार्च २०२५ मा सडकमा घाइते अवस्थामा भेटिएपछि सिंह परिवारले उद्धार गरी घरको सदस्यकै रूपमा खुला राखेर पालेको उक्त सुगा पखेटा कमजोर भएका कारण धेरै माथिसम्म उड्न नसक्ने र उसको ठुँड एवं पखेटामा कालो रङको विशेष निशाना रहेको छ ।
गत असार २९ गते आवास विकास कोलोनी क्षेत्रबाट अचानक बेपत्ता भएको ‘मऊ’ लाई आफ्नो सन्तान जस्तै मान्ने परिवारले ऊ हराएदेखि घर सुनसान भएको भन्दै फेला पारिदिन भावुक अपिल गरेको छ ।
५० हजारको ठूलो इनाम राखेर शहरभरि गरिएको यो खोजी कार्यले अहिले इन्टरनेटमा मानिसहरूको निकै ध्यान तानेको छ ।


