ईर्साद अन्सारी
३ साउन,बारा । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै सर्लाहीबाट काठमाडौं जादै गरेको बा.प्र. ०३ ००१ ख १६७१ नम्बरको बस र काठमाडौंबाट दाङतर्फ जाँदै गरेको (नम्बर नखुलेको) अर्को बस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २५ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा दाङतर्फ जाँदै गरेको बसका चालक गम्भीर घाइते भएका छन् भने प्रहरीले घाइतेहरूको कुल संख्या अझै यकिन भइनसकेको जनाएको छ ।
वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गरेको उक्त सडकखण्ड आइतबार बिहान ६ बजे मात्र खुला गरिएको थियो ।
सडक खुल्नेबित्तिकै सवारी साधनहरूले लेन मिचेर हतार गर्दा यो दुर्घटना हुन पुगेको हो, जसका कारण केही समय सडक पूर्ण रूपमा अवरुद्ध समेत बनेको थियो ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेर उपचारका लागि भरतपुर पठाएको छ ।
हाल अवरुद्ध सडक खुला भइसकेको छ भने सडक डिभिजन कार्यालयले यस सडकखण्डमा तीव्र गति र लेन अनुशासन उल्लंघन नै जाम तथा दुर्घटनाको मुख्य कारण बन्ने गरेको भन्दै चालकहरूलाई सीमित गतिमा लेन अनुशासन पालना गरी सवारी चलाउन अनुरोध गरेको छ ।


