चार ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न सरकारको निर्देशन

छानबिन न्यूज
पाठक संख्या 78
1 Min Read
Oplus_16908288

३ साउन,बारा ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा संकलन गरिएका चाउचाउका नमुनाहरूको प्रयोगशाला परीक्षण गरिएको छ।

परीक्षण गर्दा ती उत्पादनहरू खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत पाइएका छन्। आवश्यक मापदण्डभन्दा कमस्तरको भेटिएपछि विभागले ती चाउचाउ तत्काल बजारबाट फिर्ता  गर्न आदेश दिएको छ।

साउन ३ गते आइतबार सार्वजनिक गरिएको सूचनाअनुसार, विभागले सम्बन्धित उत्पादनहरूको बिक्री तथा वितरणमा पूर्ण रोक लगाएको छ।

फिर्ता गर्न भनिएका चाउचाउहरू बर्दियाको बाँसगढी–३ मा रहेको बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिका उत्पादन हुन्। जसमा २५ ग्रामको गोलमोल इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM2/D, उत्पादन मिति २०८३/०१/११), ५० ग्रामको वाइल्ड इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM1-X-2026-05-14), २५ ग्रामको प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM2/C, उत्पादन मिति २०८३/०१/२८) र ५० ग्रामको मामा इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. B/BM1-X-2026-05-13) रहेका छन्।

यी उत्पादनमा ऐनको दफा १६(क) अनुसारको कैफियत देखिएको हो। विभागले उपभोक्तालाई यी ब्याचका चाउचाउ खरिद नगर्न आग्रह गरेको छ।

खरिद गरिसकेको भए प्रयोग नगरी विक्रेता वा वितरकमार्फत फिर्ता गर्न भनिएको छ। साथै, विक्रेता तथा वितरकहरूलाई पनि ती सामग्री तत्काल बिक्री कक्षबाट हटाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया
शेयर