२ साउन,बारा । सप्तरीको राजविराज कारागारका जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीन दिनदेखि आन्दोलनरत कैदीबन्दीहरूले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि कारागार परिसर तनावग्रस्त बनेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कारागारभित्र उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जेलर मण्डलले चौकीदार नियुक्तिमा कैदीबन्दीहरूबाट रकम असुल गरेको र ‘बी ब्लक’ का चौकीदार राम रिझनले कैदीहरूमाथि समान व्यवहार नगरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनलाई साम्य बनाउन कारागारभित्र प्रहरी टोली परिचालन गरिएपछि शनिबार बिहानैदेखि परिस्थिति थप उग्र बनेको थियो
प्रहरीले बल प्रयोग गरेर आन्दोलन दबाउन खोज्दा पाँच जना कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।
कैदीबन्दीहरूले यस्तो आत्मघाती कदम चाल्न खोजेपछि सम्भावित दुर्घटना टार्न प्रहरी पछि हट्न बाध्य भएको थियो र अहिले घटनाबारे स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको जनाएको छ।


