१ साउन,बारा । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर देखिएको रस्साकस्सी, विवाद र प्रशासनिक अन्योललाई चिर्दै रौतहटको गरुडा नगरपालिकामा उपसचिव नाथु साहले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
असार मसान्तमा कार्यालय बाहिरै चेक काटेर विवादमा तानिएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपानेको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयबमोजिम साह यहाँ आएका हुन्।
आज नगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत साहलाई भव्य स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
जनप्रतिनिधि, कर्मचारी, प्रहरी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा साहको आगमनलाई लिएर चौतर्फी उत्साह देखिएको छ।
यसअघि कलैया उपमहानगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गरेका र भोजपुर नगरपालिकामा रहँदा विकास निर्माणका काममा आफैँ फिल्डमा खटिएर जनताको प्रिय बनेका साह एक निर्विवाद र बेदाग छविका प्रशासकका रूपमा चिनिन्छन्।
जहाँ पुगे पनि आफ्नो अब्बल र निष्पक्ष कार्यशैली प्रमाणित गर्न सफल साहको नेतृत्वसँगै अब गरुडा नगरपालिकाको अवरुद्ध प्रशासनिक कामकाजले गति लिने, सेवा प्रवाह प्रभावकारी बन्ने र विकास निर्माणका योजनाहरूले सार्थकता पाउनेमा स्थानीय बासिन्दा पूर्ण रूपमा विश्वस्त देखिएका छन्।


