अनलाइन चिठ्ठा र सट्टेबाजीका नाममा सामाजिक सञ्जालमा ठगी धन्दा तीव्र, साइबर ब्युरोको तत्काल ध्यानाकर्षण आवश्यक

छानबिन न्यूज
पाठक संख्या 135
1 Min Read
Oplus_16908288

१ साउन,काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा ‘लकी नक ७७७’ (Lucky Knock 777) जस्ता विभिन्न आकर्षक नामका शङ्कास्पद पेजहरू खडा गरी ‘मिसिगन स्टेट लट्री’ लगायतका अन्तर्राष्ट्रिय चिट्ठा परेको प्रलोभन देखाएर नेपाली नागरिकहरूलाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ।

गिरोहले सर्वसाधारणलाई करोडौँको पुरस्कार जित्ने भ्रामक आश्वासन दिँदै सुरुमा प्रवेश शुल्क भन्दै ३ हजारदेखि ७ हजार रुपैयाँसम्म विभिन्न नेपाली बैंक खाता तथा क्युआर (QR) कोडमार्फत रकम जम्मा गर्न लगाउने र पछि वास्तविक मूल्य वा कर तिर्ने बहानामा लाखौँ रुपैयाँ असुल गरी ठगी गर्ने गरेको पाइएको छ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिम यस्ता अनलाइन चिट्ठा, जुवा र सट्टेबाजी पूर्ण रूपमा प्रतिबन्धित र गैरकानूनी हुनुका साथै यसरी अवैध वित्तीय कारोबारमा नेपाली बैंक खाताहरू प्रयोग हुनुले गम्भीर बैंकिङ कसूर र सम्पत्ति शुद्धीकरणको जोखिम समेत बढाएको छ।

सामाजिक सञ्जालमा विज्ञापन नै बजाएर डिजिटल माध्यमबाट भइरहेको यो संगठित ठगी धन्दा र अवैध कारोबारलाई तत्काल नियन्त्रणमा लिन, संलग्न खातावाला तथा गिरोह पहिचान गरी कानुनी दायरामा ल्याउन र डिजिटल प्रविधिको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित नियमनकारी निकायको अविलम्ब ध्यानाकर्षण हुन जरुरी देखिएको छ।

प्रतिक्रिया
शेयर