२२ जेठ,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योगको कपास गोदाममा शुक्रबार बिहान करिब १० बजे विद्युत सर्ट भई आगलागी हुँदा १८० टन कपास, मिक्सिङ ब्लेण्डर, मिक्सिङ ओपनर, कन्डेन्सरलगायतका मेसिनरी उपकरण र गोदाम भवन जलेर कराडाै रुपैयाँ बराबरको धनमाल नष्ट भएको दाबि गरिएकाे छ।
उद्योगका व्यवस्थापक नन्दकिशोर सिंहका अनुसार कपासलाई एमबीओ मेसिनमार्फत धागो उत्पादनका लागि पठाउने क्रममा अचानक आगो सल्किएको हो भने घटनामा कुनै मानवीय क्षति भएको छैन।
आगलागी लगतै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अग्नि नियन्त्रक र मजदुरहरूको सक्रियतामा जीतपुरसिमरा, निजगढ, कोल्हबी, वीरगन्ज, आदर्श कोतवाल तथा नेपाल आयल निगम लगायतका ११ वटा दमकलको सहयोगमा करिब दुई घण्टापछि दिउँसो १२:३० बजे आगो नियन्त्रणमा आएको थियो।
घटनापछि जिल्लाका सुरक्षा अधिकारीहरूले निरीक्षण गरेको उक्त क्षेत्रमा आगो नियन्त्रणमा आइसकेको र पुनः क्षति हुन नदिन पूर्ण रूपमा निभाउने कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जानकारी दिएका छन ।
उद्योग प्रशासनले क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी राखेको छ।


